line
Article/ working letter
वर्तमान नेपालमा युवाका चुनौती

वर्तमान नेपालमा युवाका चुनौती

 

मनमोहन भट्टराई

               

हामी विश्वको त्यो भूखण्डमा छौं, जहाँ आर्थिकरुपले अति विपन्न १ अर्ब मान्छेको बसोबास छ । त्यसमाथि नेपालको कुरो गर्दा थोरै अर्थ आर्जनका लागि ३ करोडभन्दा कम जनसंख्यामध्ये ६० लाख युवाहरु जस्तोसुकै भए पनि कामका लागि आफ्नो देश छाडेर बाहिर जान बाध्य छन् । ती युवाहरुको अवस्था समाजको अघिल्तिरका परिवर्तनका चुनौतीहरु र समाधानका उपाय खोज्नका लागि यो पत्र तयार गर्ने प्रयत्न गरिँदैछ । तर, सबभन्दा ठूलो अन्योलको विषय भने यो पत्रले सम्बोधन कुन चाहिँ प्रकृतिको चुनौतीलाई गर्ने भन्ने नै छ । विपन्नताको विषय भनौं या आर्थिक समृद्धिको विषय, जल्दोबल्दो रुपमा आज विश्वव्यापी बहसको विषय पर्यावरण वा जलवायु परिवर्तनको विषय, प्रविधिको विषय, सूचना प्रविधिको विषय, पुँजीको विषय, राजनीतिक विषय, जातीय पहिचानको विषय, सामाजिक, सांस्कृतिक जस्ता थुप्रै विषय हुन सक्छन् जसलाई छुट्टाछुट्टै हेरियो भने छुट्टाछुट्टै देखिन्छन् तर समग्रमा हेर्न खोजियो भने यी एक अर्काबाट छुट्टिएका विषय भने होइनन् ।

 

जुन १ अर्ब विपन्नहरुको चर्चा हामीले गर्यौं, यी सबै ठाउँमा यथार्थमा भन्नुपर्दा प्राकृतिक स्रोतको अभाव छैन । तर, यसको दोहन नभएको पनि होइन । जुन ठाउँमा प्राकृतिक स्रोतको जति ठूलो भण्डारण छ तिनै ठाउँहरुमा त्यति नै जबर्जस्त डरलाग्दो प्रकृतिको आपसी द्वन्द्व पनि छ । चाहे त्यो अफ्रिका होस्, केन्द्रीय वा दक्षिण अमेरिका होस्, दक्षिण वा केन्द्रीय एसिया होस्, थोरै या धेरै मात्राको हेर्दा आर्थिक सामाजिकरुपको देखिए तापनि सही अर्थमा राजनीतिक आकार लिईसकेका अस्थिरताको मार्ग हुँदै मुलुकको अस्तित्व नै खतरामा पर्नेगरी राजनीतिक द्वन्द्वहरु चर्केर गएको अवस्था देखिन्छ । गहिरो अध्ययनदेखि लिएर सामान्य पर्यवेक्षणको आधारमा पनि एउटा नतिजामा पुग्न धेरै घोत्लिनु पर्दैन । कतिपय मुलुकहरुका लागि ती मुलुकमा भएका प्राकृतिक स्रोत नै त्यस मुलुकका लागि वरदान नभएर

श्राप साबित भएका छन् । प्राकृतिक स्रोतमाथिको बर्चश्व एवं दोहनको प्रतिस्पर्धाका कारण एउटा बेग्लै प्रकृतिको आर्थिक औपनिवेसको होडबाजी या प्रतिस्पर्धाले गर्दा आन्तरिक द्वन्द्व र वाह्य हस्तक्षेप डर लाग्दो किसिमले देखिएको छ ।

 

ल्याटिन अमेरिकन देशहरुलाई हेर्ने हो भने मुलुक विपन्न होइन, जनतामात्रै विपन्न हुन् । इक्वोडर, ग्वाटेमाला, पाराग्वे, पेरु यी सबै कुनै बेला समृद्धि उन्मुख मुलुक थिए । यिनीहरु कसैसँग खनिजको ठूलो भण्डारण थियो भने कसैसँग कफी, कसैसँग केराखेती, कसैसँग राम्रो कृषि उब्जनी र नजिकै ठूलठूला बजार । तर, यिनीहरुले आफ्नो त्यो स्थितिलाई टिकाउन भने सकेनन् । यता मध्य एसियाको स्थितिलाई हेर्ने हो भने खनिज, तेल, ग्यासमा निकै धनी मुलुकका रुपमा हेर्ने गरिन्छ । तर, यसको दोहन पनि अरुबाटै भयो । शासन व्यवस्था निरंकुशरुपले संचालन भयो । जसले गर्दा शासनको असफलताकै रुपमा यसलाई हेर्न सकिन्छ । यहाँ पनि मुलुकलाई गरिब भन्न सकिँदैन, जनतालाई बरु गरिब भन्नै पर्ने हुन्छ ।

 

त्यसैगरी अफ्रिका अत्यन्तै महँगो खनिज पदार्थका लागि चिनिएको भूखण्ड हो । हीरा, सुन, विभिन्न खाले अन्य बहुमूल्य पत्थरको खानीका साथै कोकोवा, कफी जस्ता नगदेबाली यो मुलुकका प्रमुख विशेषता हुन् । कतिपय ठाउँका तेलखानीले यसलाई समृद्धितर्फ लैजान कुनै असजिलो पर्ने थिएन । तर यिनै श्रोत मुलुकका लागि स्राप सिद्ध भयो । विदेशी हस्तक्षेप, ठूला कम्पनीहरुको स्वार्थ र शासकहरुको मिलेमतोले गर्दा जनता विपन्न भए र, मुलुक रित्तिदै गए ।

 

अब हामी नेपालमा फर्कौं । नेपालकै कुरो गर्दा पनि स्रोत, साधनको दृष्टिले तीन करोड नेपालीलाई नपुग्ने स्रोत, साधनको अभाव भएको मुलुक होइन । भर्खरै सम्पन्न धान दिवसका अवसरमा विज्ञद्धारा प्रस्तुत तथ्यांकले भन्छ, नेपालमा धानको उत्पादन मागको तुलनामा बचत बढी छ र पनि हाम्रा केही जिल्लामा सधैं खाद्यान्नको अभाव रहिरहन्छ । विदेशबाट चामलको आयात गरिन्छ । निर्यात कहाँ हुन्छ ? यसको तथ्यांक दिन सरकार असमर्थ छ । यो किन र कसरी भयो ?  अर्को तथ्य, लम्बाईभन्दा चौडाई नितान्त कम भएको मुलुक नेपाल दक्षिणी सीमादेखि उत्तरी सीमासम्म पुग्नका लागि एउटा अंग्रेजी भनाई अनुसार At a crow flow distance आँप, लिची, मेवा, केरादेखि स्याउलगायतका सम्पूर्ण फलफूल पाइने मुलुक संसारमा बिरलै छन् । खाने व्यवहारको चर्चा गर्नुपर्दा चामल, मकै, गहुँ, कोदो, फापर, कागुनो, आलु, मासु पर्दछन् र यसमा मुलुक आत्मनिर्भर छ ।

 

तर, स्रोतमा आधारित राजनीति गर्नेहरुले जहिले पनि कसै न कसैलाई निम्त्याउँछ । अहिले मुलुकमा भएको पनि त्यही नै छ । मुलुक आफ्नै राजस्व, आफ्ना देशवासीबाट जम्मा भएको पुँजी, आफ्नै मुलुकको प्रविधि, आफ्नै मुलुकमा रहेको सूचना प्रविधि, आफ्नै मुलुकको व्यवस्थापन विधि, आफ्नै मुलुकले निर्माण गरेको ऐन, कानुनबाट हुन सक्ने कुराहरुलाई आयातित कुराहरुले प्रतिस्थापन गर्ने जुन कुरो अपनाइयो त्यसैले एक किसिमको उपनिवेस सुरु गर्यो र त्यसैबाट अब संस्थाहरुलाई मास्ने जस्तो कि निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग आयोग, सर्वोच्च अदालत । केही महिनापछि जुनबेला निर्वाचन गर्ने भनिएको छ त्यसबेला यी कुनै पनि रहने छैनन् । जुनबेला निर्वाचनको तिथिमिति घोषणा गरिएको छ ।

 

युवा पुस्ताको अघिल्तिर चुनौती के छ ? यी सबै गन्जागोलको बीचमा मुलुक उभिएको बेलामा र संस्थालाई मार्ने प्रयत्न भएको बेलामा पहिलो कुरा त हामीले हेर्नुपर्छ युवा हुन्, वयस्क हुन्, प्रौढ हुन् या वृद्ध नै किन नहुन् । मुलुकलाई उभ्याएर कसरी राख्ने ? एकथरीको चाहना छ, संस्था ढलोस् र हामी सधैं सत्तामा टाँसिइ नै रहौं । यस अवस्थामा कुनै पनि रुप, स्वरुपमा माथि उल्लेख गरिए जस्तै स्रोतको बिक्री भण्डारका रुपमा मुलुकलाई ठूलो पसलमा परिवर्तित गर्ने छैन भन्ने कुरोको कुनै प्रत्याभूति दिन सक्ने स्थितिमा अहिले नेपाल र नेपालीले देख्दैनन् । माथि उल्लेख भएका मुलुक या भूखण्डका नेताहरु पनि स्रोत र द्रव्य राजनीतिसितै आवद्ध भएकै कारण ती मुलुकका एक अर्ब जनता विपन्नताको चपेटामा परेका हुन् ।

 

अब नेपाली युवासित भएको शक्तिका कुरा गरौं । नेपाली युवासित

                पुँजी

                इन्जिनियरिंग

                हार्डवेयर टेक्नोलोजी

                सफ्टवेयर इन्जिनियरिंग

                वातावरणीय इन्जिनियरिंग

                सूचना प्रविधि

                व्यवस्थापकीय सीप

                शिक्षाको विस्तार

                चिकित्सकीय सीप

                सूचनाको विस्तार

                सूचनाको हकको व्यवस्था

                नागरिक हकको सुनिश्चितता

                स्वतन्त्र न्याय पद्धति छ ।

 

यति हुँदाहुँदै पनि मुलुक विपन्नताको चपेटामा किन पर्यो ? यति भएका मुलुक सामान्यतः विपन्न हुँदैनन् तर नेपालमात्रै यो विपन्नताको चपेटामा पर्नाका कारण छन् । ती कारण हुन्, हामी भित्रै रहेको  स्रोतमाथिको दोहनको राजनीति र द्रव्य संकलनको उत्कट लिप्सा ।

 

नेपाली राजनीतिलाई निर्देशित गर्ने आधारभूत कारक तत्वहरु के हुन् ? र पार्टीका गठनहरु कसरी भए ? भन्ने कुरामा आजको युवा पुस्ताको चासो हुनुपर्छ । सामान्यतः राजनीति चार कुरोबाट निर्देशित भएको देखियो ।

                आदर्श

                सिद्धान्त     

स्रोत

                द्रव्य

 

नेपालमा आदर्शको राजनीति नभएको होइन । एउटा पुस्ताले त्यसलाई बचाएर नराखेको पनि होइन । त्यही बाटोमा हिँड्ने मान्छेको अहिले पनि अभाव छैन । त्यसपछि आउँछ सिद्धान्तको राजनीति । यसलाई पनि लिएर हिँड्ने मान्छेको कमी छैन । तेस्रो स्रोतको राजनीति । नेपालको राजनीति खलबलिनुको सबभन्दा प्रमुख कारण नै राजनीति जब स्रोत केन्द्रित हुन थाल्यो । त्यसपछि धेरै विषयहरु पनि यसभित्र उठ्न थाले । स्रोतमाथि कसले पकड जमाउने भन्ने कुरामा देशभित्र र बाहिरका शक्तिहरुको खेलचक्र सुरु हुन थाल्यो । यही बाटो गरिकन संघीयता, जातीय संघीयता, जनयुद्ध हुँदाहुँदा वर्तमान प्रधानमन्त्रीले गृहयुद्धसम्मको उद्घोष गरे, १७ हजार मान्छेको ज्यान गयो । यो सबै स्रोतको राजनीतिको परिणाम हो । उनी प्रधानमन्त्री हुनु र कथित मधेसको स्वार्थलाई बोकेर हिँडेका भनिएका ६ बाटा टुक्रिदै, टुक्रिदै, टुक्रिदै अहिले २० दल बन्न पुगेका मधेस केन्द्रित दलहरुको राजनीति पनि त्यसैबाट प्रेरित हो भने जातीय राज्यको माग गर्नेहरुको पनि स्रोतमाथि कसले कब्जा गर्ने भन्ने होडबाजी नै हो ।

 

यसरी स्रोतको बाँडफाँड गर्दा भागमा के पर्छ भन्ने कुरोको भागबण्डा असजिलो भएपछि अब राजनीति द्रव्यमा आएर अड्कियो । अब सुरु भयो द्रव्य राजनीति, जसले मोर्चाबन्दीको राजनीति सुरु गर्यो । पार्टीहरु विखण्डनमा गए । यो विखण्डनले एउटा संकेत गर्दछ धुजा धुजा भएका पार्टीहरुले अब सिंगा मुलुकलाई नै धुजाधुजा पार्न सक्छन् । राजनीति विषाक्त मात्रै भएन, अब भने मुलुकलाई नै विखण्डनतिर यसले लैजान सक्ने दुर्भाग्यपूर्ण अवस्थाको निर्माण हुन थाल्यो । कुनै पनि भेष र अनुहार लिएर मुलुकमा लेन्दुपको प्रादुर्भाव हुनसक्ने खतरा बढेर गएको छ ।

 

चुनौती त यिनै हुन् । समाधानका कुरा गर्ने हो भने कुनै पनि क्रान्तिकारीले क्रान्तिकै माध्यमबाट यी सबैको समाधान खोज्नु स्वाभाविक देखिन्छ । तर सभ्य समाजले क्रान्तिको नाममा हिंसा, आन्दोलन, बन्द, हड्ताल आदिको बाटोमा युवा पुस्ता लाग भनेर भन्न सक्दैन । सरकार, संविधान, नैतिकता २१ औं शताब्दीका मूल्य, मान्यता, हामीले पछाडि छोडिसकेका परम्परालाई त्याग्दै आफ्नो संस्कार, आफ्नो संस्कृति आफैं निर्माण गर्ने उद्घोषसम्म गर्न सकिन्छ । एकल जातीय पहिचान, एकल जातीय पहिचानभित्रको कसैलाई अग्रस्थान, कसैलाई पक्षस्थानको विभेदकारी समाजको परिकल्पना भने २१ औं शताब्दीले गर्नै सक्दैन । २१ शताब्दीसित पाइला मिलाउने कुरो मात्र हुन सक्छ ।

 

वर्तमान युवा पुस्तासित माथि जे उल्लेख गरियो, यो सभ्य समाजले दिएको र आफूलाई उपलब्ध जे साधन, स्रोत, चेतना, शिक्षा त्यसको समायोजन गर्दै अगाडि बढ्नका लागि नपुगेको कुरो एउटै मात्रै छ राजनीतिक स्थिरता र आधुनिक चिन्तन । अहिलेको युग वादहरुको मृत्यु भइसकेको युग हो । आज हामीले व्यवहार गर्नुपर्ने भनेको हाम्रा अघिल्तिर आएका मुद्दाहरुसित हो । के एकल जातीय पहिचानलाई सम्बोधन गर्ने यो संसारमा कुनै वाद छ ? या यो युवापुस्ताले त्यसलाई स्वीकार गर्न सक्छ ? सक्छ वा सक्दैन भन्ने कुरो लोकमत बिना कुनै नेता विशेषको अभीष्टका लागि स्वीकार गर्न युवा पुस्ता तयार छ ? छ या छैन भन्ने कुरो मतदानको माध्यमबाट टुंगो लगाउँ । कुन किसिमको शासन पद्धति भन्ने कुरो पनि मतदानको माध्यमबाट टुंगो लगाउँ । कुन किसिमको न्याय पद्धति, विवादास्पद विषयहरु नेताले टुंगो लगाउने होइन, जनताले टुंगो लगाउने हो । युवा पुस्ताले यही कुरो बुझेर संविधान, कानुन, नियमलाई टुंगो लगाई दिए भने बाँकी कुरो नेपाल राष्ट्रले र त्यहाँ बन्ने भोलिको सरकारले टुंगो लगाउने छ । होइन भने नेपाल नेपालजस्तो देखिने छैन । दुई जमिनबाट घेरिएको एउटा एकान्त टापु, त्यो पनि केही वर्ष कसैको नियन्त्रणमा, केही वर्ष कसैको नियन्त्रणमा एउटा रणभूमिमा परिणत सधैं अशान्त समाजका रुपमा देखिने छ । समाधानको बाटो यही नै हो । चुनौतीमाथि नै उल्लेख गरिसकियो ।

 

 


line1